शान्ति र विकासका लागि गठबन्धनले जित्नुपर्छ : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने– ‘आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।’

ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए । प्रधानमन्त्री देउवाले भने–‘यसलाई अझ बढी एकताबद्ध बनाउने भन्ने हो ।’ यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए । उनले भने, “हामीले त्यसको खिलापमा संसद् फिर्ता ल्याउने काममा लाग्यौँ, सफल भयौँ ।”

प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार  ६ : ४२ बजे