काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही गठबन्धन नै कायम रहने बताएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि दाहालले यस्तो बताएका हुन् ।
यसअघि आजै बिहान नेकपा माओवादी केन्द्रको हाइकमाण्डको बैठक बसेर अहिलेको निर्वाचनबारे छलफल भएको थियो । माओवादी केन्द्रको हाइकमाण्डको बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्ता गरेका हुन् ।
आज भएको भेटमा सरकार गठनको विषयमा छलफल भएको बताइएको छ । । निर्वाचनपछि उनीहरुबीच आज पहिलो पटक भेटवार्ता भएको हो ।
दाहालले प्रदेशदेखि संघसम्म नै अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।उनले भने,‘अब निर्वाचनको सबै नतिजा आओस, त्यसपछि हामी फेरि छलफलमा बस्छौं । र, सरकार गठनलगायत समग्र निर्वाचनको विषयमा बृहत्त समिक्षा गर्छौं । तर, यो गठबन्धन कायम रहन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’ पछिल्लो मतपरिणामले पनि सत्ता गठबन्धन बहुमतर्फ अग्रसर देखिएको छ।
माओवादी अध्यक्ष प्रचण्डले आगामी सरकारमा आफ्नो नाममा सहमति जुटाउने कोसिस गर्ने माओवादीका एक नेताको दाबी छ ।










