मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ



काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गरे । अध्यक्ष थापाले काठमाडौँलाई चलचित्र, साहित्य, सङ्गीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउनतर्फ महानगरको ध्यानाकर्षण गराउन चाहेको बताए ।

महोत्सवमा कमल कुमारद्वारा निर्देशित वृत्तचित्र ‘बाघको बङ्गारा’ प्रदर्शन गरियो । हेर्ने कथा शृङ्खलाकी सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको उक्त वृत्तचित्रले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर मह सिकारको कथा भन्छ । करिब ५५ मिनेट लामो सो वृत्तचित्रले शारीरिक र मानसिक यात्राको कथा पनि प्रस्तुत गर्छ । प्रदर्शनीपछि निर्मात्री चापागाईं र निर्देशक कुमारले दर्शकसँग यसको छायाङ्कनबारे अनुभव साटेका थिए ।

भारतीय चलचित्रका निर्देशक प्रकाश झाले महोत्सवको शुभारम्भ गर्दै काठमाडौँ आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त बनाउनुपर्ने विचार राखे । “म दोस्रो पटक काठमाडौँ आएको हुँ । मलाई मेरो फिल्म यहाँ देखाउने इच्छा थियो । त्यो पूरा भयो”, निर्देशक झाले भने । उनको अभिनय रहेको चलचित्र ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन गरिएको थियो । यसका लागि झासँगै निर्देशक एम गनी पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

झा र गनीले दर्शकसँग अन्तक्रियासमेत गरेका थिए । महोत्सवको पहिलो दिन सम्राट खनालद्वारा निर्देशित ३३ मिनेट लामो वृत्तचित्र ‘थ्रुस् द सिङ्गिङ भिलेज’को प्रदशन भयो । जाकुब जेलाद्वारा निर्देशित ४६ मिनेट लामो ‘दु सार ः अ काराकोरम स्की एक्सपिडिशन फिल्म’ पनि प्रदर्शन गरियो । यही मङ्सिर २६ गतेसम्म चल्ने उक्त महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र देखाइने छ । महोत्सवमा भाग लिन विदेशी चलचित्र निर्माता समेत काठमाडौँ आएका छन् ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार पुरस्कार पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र वृत्तचित्र विधामा उत्कृष्टलाई रु एक लाख र रु ७५ हजार पुरस्कार दिइनेछ । इसिमोड सदस्य मुलुकबाट छानिएका उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत रु ५० हजार पाउनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ३६ बजे