कांग्रेस संसदीय दलको चुनाव बुधबार, उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो ।

त्यसबारे तयारी अघि बढाउन सोमबार बिहानै निर्वाचन समितिको बैठक बसेको थियो । समितिकी सदस्य पुष्पा भुसालले संसदीय दलको नेताको चुनाव बुधबार बिहान ८ देखि गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।

कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो ।

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ।बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ।

प्रकाशित मिति : पुस ४, २०७९ सोमबार  ५ : १६ बजे