मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा २१ वटा विभाग गठन



नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले विभागका प्रमुख मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव मोहनराज शर्माले जानकारी दिए ।

उनका अनुसार पार्टीको सूचना सञ्चार तथा प्रचारप्रसार विभागको प्रमुखमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई मनोनयन गरिएको छ । प्रदेश सङ्गठन विभाग प्रमुखको जिम्मेवारी प्युठानका सुवास केसीलाई दिइएको छ । यसैगरी स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डेलाई मनोनयन गरिएको छ । प्रदेश कानून तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, नवलपरासीका विश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

यसैगरी प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अर्घाखाँचीका डा जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्रनाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग, रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको जनाएको छ ।

कपिलवस्तुका विक्रमसिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीलाकुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा विपद् व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुखको जिम्मेबारी दिइएको छ ।

यस्तैगरी रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग तथा बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग प्रमुखमा मनोनयन गरिएको प्रदेश पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति पुनले कांग्रेसको विधानअनुसार आफूले अहिले २१ वटा विभागका प्रमुखमा मनोनयन गरेको अरु पनि पछि गर्ने बताए । उनका अनुसार प्रदेश समितिले ३४ वटा विभाग गठन गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४९ बजे