राष्ट्रपतिले शुक्रबार संसद्को बैठकलाई सम्बोधन गर्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकि छन् । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

प्रकाशित मिति : माघ २६, २०७९ बिहिबार  ४ : ५९ बजे