३ चैत काठमाडौं। उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे।निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।










