सुर्खेत। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन्।
प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको खबर प्राप्त गरेको थियो भने कात्तिक १५ गतेदेखि उनीहरूको हेलिकप्टरमार्फत उद्धारकार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ।
उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा , डिप्लिना बिस्वास र राजेश डे रहेका छन्। यीमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन्।
प्रसिद्ध शे(फोक्सुण्डो तालको अवलोकनका लागि उनीहरू डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा अचानक भारी हिमपात भएपछि पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा उनीहरू त्यहाँ फस्न पुगेका थिए।










