कास्की, ९ चैत । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् ।
नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भने । उनले भने, “यो कुनै आइएनजिओ÷एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।”
प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे । उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए ।
प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे।










