प्रदेश संरचनाप्रति नागरिकको वितृष्णा चुलियो : शेखर कोइराला



काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद शेखर कोइरालाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति देखिएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व सुरु भएको बताएका हुन् । उनले यसको कारण स्वयं राजनीतिक दल र आफूहरु भएको उनले बताए । यसखाले समस्याको समाधानका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनको भनाई छ ।

‘देशमा उत्पन्न भइरहेको वर्तमान राजनीतिक अवस्थाप्रति हामी कोही पनि अनविज्ञ छैनौं । मुलुकमा अकल्पनीय राजनीतक द्वन्द्वका नयाँ कम्पनहरु अनेकन् रंग रुपमा देखिदैछ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति छ,’– उनले भने ।

अबका दिनमा ढिला नगरिकन जनअपेक्षा अनुसारका काम गर्नुपर्ने उनले बताए । नागरिकको समस्या समाधानका लागि संसद्, सरकार, प्रतिपक्ष एक ठाउँमा उभिने बेला आएको उनको भनाई छ । ‘आम नागरिकले यो व्यवस्थाले अवस्थामा कुनै परिवर्तन नआएको गुनासो गरिरहँदा हामी त्यसतर्फ सचेत हुने कि नहुने रु अब हामी ढिला नगरी जनअपेक्षा अनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिकको चिन्तालाई सम्बोधन गर्न आगाडि बढ्नुको विकल्प हामीसँग छैन,’– उनले भने ।

अहिले नागरिकहरुमा देखिएको संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्ण राजनीतिक दलकै विगतका कमीकमजोरीको उपज भएको उनको दाबी छ । साथै, जनतामा देखिएको संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा राजनीतिक असफलताको खुड्किलो भएको उनको दाबी छ ।

‘हाम्रा आफ्नै विगतका कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आइतबार  ३ : ०८ बजे