उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं। आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । निर्वाचन आयोगका अनुसार चितवन-२, तनहुँ- १ र बारा- २ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन लागेको हो।

उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ।

आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको जनाएका छन्।

निर्वाचन आयोगका अनुसार चैत २१ गते उम्मेदवारीविरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने ‍कार्यतालिका छ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ९ : १६ बजे