भक्तपुर, २ वैशाख । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो।
मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ ।









