पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।
इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० ः०० बजे सुरु हुने तय भएको थियो ।
तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको एएफपीका संवाददाताले बताएका छन् ।
अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।
युद्धविरामको घोषणापछि सयौं मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे ।
इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।
इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।














