नागरिक उन्मुक्ति पार्टीले समय माग्दा सरकार विस्तार रोकियो



सुदूरपश्चिम, ५ जेठ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए । शाहीले भने, “नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।”

शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ । यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ९ : ०६ बजे