सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित



काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा इन्जिनियर चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शुक्रराज पौडेलले जानकारी दिए । 

यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

नवनिर्वाचित अध्यक्ष केसीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको मानोआस्थित हवाई विश्वविद्यालयबाट सिभिल र पर्यावरण इञ्जिनियररिङमा स्नातकोत्तर गरेका छन् । उहाँ नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत हुन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार  ८ : ५१ बजे