मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह



जेठ १९ ,नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरे ।

सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराए ।

नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताए ।

उनले बिहीबार बिहान आफ्ना भारतीय समकक्षीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे । समग्र विषयमा खुला हृदयका साथ छलफल भएको र त्यसबाट दुई देशबीच रहेका साझा विषयमा समाधान धारणा बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरु मिलेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पियूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताए । उनले भारतीय प्रधानमन्त्रीले अगाडि सार्नुभएको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबीच साझा दृष्टिकोणका साथसाथै समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि बिहीबार भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताए । उनले नेपाल सरकारले वैदेशिक लगानीका लागि अधिकतम सहज वातावरण बनाएकाले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए । उनले नेपालको ऊर्जा, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानीका लागि भारतीय व्यवसायीलाई आग्रह गर्दै लगानी बोर्डमार्फत आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेश गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे । उनले नेपालमा लगानी गरिरहेका डाबर, एभरेष्ट बैंक, एसबीआई बैंक, युनिलिभरलगायतका संस्थाले कमाएको नाफा सहजरुपमा भारतमा ल्याउन पाएको र नेपालमा समेत उत्कृष्ट सेवा प्रदान गरेर ठूलो करदाताका रुपमा समेत रहेको भन्दै अध्यक्ष ढकालले सम्पर्क सञ्जालको विस्तार तथा वर्तमान सरकारले लिएको नीतिका कारण पनि लगानीको थप वातावरण बनेको बताए ।

भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्ने उद्देश्यका साथ बिहीबार महत्वपूर्ण छलफलको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा नेपाल र भारतका उद्योगी व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : २३ बजे