एजेण्डा र कार्यशैलीमा परिवर्तन हुनुपर्छ : महासचिव पोखरेल



जेष्ठ ३१ काठमांडौ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुभित्र परिवर्तन नेता वा कार्यकर्तामा नभई सोचमा आवश्यक रहेको बताएका छन् ।

उनले दलहरुभित्र नेता र कार्यकर्तामा परिवर्तन आउनुअघि एजेण्डा, कार्यशैलीमा हुनुपर्ने तर्क गरेका हुन् ।

बुधबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, ‘यति बेला परिवर्तनन को नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिँदैछ । सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा कार्यशैली, संकल्प र मनोविज्ञान हो ।’

पछिल्लो पुराना राजनीतिक दलहरुभित्र नेतृत्व परिवर्तनको विषय उठिरहेका बेला महासचिव पोखरेलले भने त्यसप्रति फरक धारणा राखेका हुन् । एमालेले ७० वर्षको उमेरहद हटाएपछि नेतृत्वको विषयमा आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पनि नेतृत्वमा स्थापित गर्ने उद्धेश्यले उमेरहद हटाइएको आरोप पार्टीभित्रबाटै लागेको छ । त्यसै सन्दर्भलाई जोडेर एमाले महासचिव पोखरेलले परिवर्तन नेतृत्व वा कार्यकर्तामा नभएर मनोविज्ञानमा आवश्यक रहेको औंल्याएका हुन् ।

उनले भनेका छन्, ‘सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा कार्यशैली, संकल्प र मनोविज्ञान हो । अनि नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ, एक हातले ताली बज्दैन ।’

प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार  १२ : ४४ बजे