काठमाडौँ, ४ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताएका छन् । युवा किसान सङ्घको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताए ।
ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी दिँदै उनले यस वर्ष मलको अभाव हुन नदिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने., “कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा हाम्रो ध्यान गएको छैन । अनुदानको रकम सदुपयोग गरेर यान्त्रिकीकरणमा ध्यान दिनुपर्छ ।” उत्पादनमुखी क्षेत्रमा अनुदानका लागि प्रदेश र स्थानीय तहमा समन्वय गरिएको उनले जानकारी दिए ।










