असार २१ काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको सामूहिक बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा वीपीनगरमा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
बैठकका एजेन्डाहरुमा क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय रहेको काँग्रेस महामन्त्री गगनकुमार थापाले लेखेको पत्रमा उल्लेख छ ।
जिल्ला सभापतिहरुलाई लेखेको पत्रमा विवरणसहित उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।यो बैठकले कांग्रेसलाई चलायमान बनाउने विश्वास केन्द्रको छ ।
यो बैठक बस्ने भएपछि नै हिजो पदाधिकारी बैठक बसेर केन्द्रीय समिति बैठक डाक्न दबाब पुगेको हो ।प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नु पर्ने भए पनि संस्थापनले वास्ता नगरेपछि अहिलेमात्र दबाब परेको हो ।
हिजो बसेको पदाधिकारी बैठकले आगामी असार २७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यो बैठकले एक वर्षदेखि सुस्ताएको काँग्रेसको केन्द्रीय समिति पनि सक्रिय हुने अपेक्षा गरिएको छ ।
कांग्रेसको संस्थापन इतर पक्षले पटक पटक बैठक डाक्न आह्वान गरेको भए पनि नेतृत्वले नचाहेकाले एक वर्षपछि बल्ल केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।














