कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग



काठमाडौं, ३० असार । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ।

तेस्तै अनजबो बैठकले अनुचित लेनदेन ९मिटरब्याज०सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ ।
बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो ।

यस्तै बैठकले पार्टीको बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ ।

सदस्यता नवीकरण साउन १५ गतेसम्म

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले पार्टी सदस्यता नवीकरणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने अघिल्लो निर्णयलाई बढाएर साउन १५ गतेसम्म सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने निर्णय गरेको छ ।

सदस्यता नवीकरण सकेपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णयसमेत पार्टीले गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको निर्वाचनको पर्यवेक्षकका लागि भ्रमण गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट धेरै पशु मरिसकेको भन्दै लम्पी स्किन रोगको रोकथाम गर्न प्रभावकारी कदम चाल्न, किसानलाई बीमा रकम भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन माग गरेको छ ।

यसैगरी बैठकले प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका काममा तत्काल खटिन आह्वान गरेको छ । विश्वविद्यालयमाथि सत्ता संरक्षित विद्यार्थी सङ्गठनबाट भइरहेको निरन्तरको हस्तक्षेप, तालाबन्दी र अराजकताप्रति पार्टी गम्भीर भएको बैकठले जनाएको छ ।

प्रकाशित मिति : असार ३०, २०८० शनिबार  ९ : ११ बजे