काठमाडौ ,२ साउन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको आज सात दिन पुगेको छ।
गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएकी उनको आज सातौँ दिनको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको उक्त सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेता डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए ।
उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए । पत्नी वियोगमा परेका प्रधानमन्त्री दाहालले उक्त सभामा सम्बोधन गर्दै आफ्नो जीवनसहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरेका थिए। आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाचुञ्जेल पनि आफूलाई कहिल्दै दु:ख नदिएको र मर्दापनि दु:ख नदिई चुपचाप बिदाई भएको बताएका थिए।














