सय किलो सुन प्रकरणमा छानबिन गर्न भन्सार विभागद्वारा समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउने



४ साउन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद प्रकरणमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ ।

यो सुन भन्सारबाट जाँचपास भएर बाहिरिइसकेको अवस्थाना ट्याक्सीबाट बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा सुन जफत गरेर २ जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको छ ।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता थियो भन्नेबारे छानबिन गर्नेछ ।

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि जाँच गरिनेछ ।

भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत भएको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।

यसैबिच समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने भएको छ । “छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ,” भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘प्रतिवेदनमा आधारमा कारबाही अघि बढाइनेछ ।”

छानबिन समितिले आजैदेखि काम सुरु गरिसकेको उनले बताए ।

प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार  १ : २५ बजे