काठमाडौं,५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ६ गते इटाली भ्रमणको लागि त्यसतर्फ प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्रीको इटाली भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउतलगायत छन् ।इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।
राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । यसको आयोजना गैरआवासीय नेपाली संघ, इटालीले गर्नेछ ।
प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।














