काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले बैठक मिसन ८४ को निर्वाचनलाई लिएर मात्र नभई देशको समग्र विषयमा आधारित भई बसेको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बाहिर चर्चामा आएको जस्तो मिसन ८४ लाई गम्भीरता पूर्वक लिएर बैठक बसेको भन्ने कुरा साँचो नभएको बताए । उनले देशको समग्र समस्यामा आधारित भएर बैठक बसेको प्रष्ट पारे ।
उनले भने,‘ नेपाली कांग्रेस पार्टी बाहिर चर्चा भएजस्तै मिसन ८४ को लागि गम्भीरता लिएर गरेको होईन । यो बैठकमा ८४ को घोषणा गरेको छैन् । हामीले देशको बारेमा बिभिन्न विषयमा छलफल गरेका छौं ।’महामन्त्री शर्माले पार्टी अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनित गर्न नमिल्ने तर्क गरे ।
उनले भने, ‘पार्टीको अधिवेशनमा एउटा पदमा पराजित व्यक्तिलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनित गर्ने भन्ने कुराले त्यही तहको साथीलाई मसँगै हारेको मभन्दा माथि गयो भन्ने पर्छ । त्यसरी माथि जाँदा उसको प्रश्न गर्ने क्षमता पनि भुत्ते हुँदै जान्छ ।’उनले बैठकमा निर्वाचन प्रणालीको विषयमा,मधेशको मुद्दा ,कर्णालीको बारेमा पनि कांग्रेसले कुरा उठाएको जानकारी दिए ।
किसानको मुद्दाहरु,लम्पी स्कीनबाट प्रभावित भएका किसानहरुको बारेमा , सम्पूर्ण शैक्षिक क्षेत्रमा सहकारीको वारेमा र बढ्दो व्याज दर जस्तो देशको समस्याहरुको बारेमा छलफल भएको उनको भनाई छ ।