कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने



काठमाडौ , १७ साउन । कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापासहित अन्य तीनजनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

बुधबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा उद्धव थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। दोस्रोपटक प्रदेशको मुख्यमन्त्रीको पदभार गर्दै थापाले सरकारको नेतृत्व गर्ने भएका हुन्।

मुख्यमन्त्रीको सपथग्रहण गरेसँगै थापाले गठबन्धनतर्फबाट तीनजनालाई मन्त्री बनाउने भएका छन्। गठबन्धन दलबाट केही नयाँ र पुराना अनुहारले निरन्तरता पाउने एक कांग्रेस प्रदेशसभा सदस्यले जानकारी दिएका छन्।उनका अनुसार पहिलो चरणमा बन्ने सानो आकारको मन्त्रिमण्डलमा कांग्रेसतर्फबाट प्रदीप सुनुवारले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने भएका छन्। सुनुवार यसअघि पनि विनाविभागीय मन्त्री भएका थिए।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पुरानै अनुहारमा कमलप्रसाद जगेबुलाई सरकारमा पठाउने जनाएको छ। यसअघि पनि जगेबु विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका थिए।यसैगरी, नेकपा माओवादी केन्द्रतर्फबाट पूर्वसभामुख बाबुराम गौतमले मन्त्री पदको सपथ ग्रहण गर्ने भएका छन्। गौतमलाई आर्थिक मन्त्रालयमा ल्याउने तयारी भए पनि पहिलो चरणमा विनाविभागीयमा राख्ने तयारी भएको माओवादी केन्द्रका नेताले बताएका छन्।सभामुख गौतमले मंगलबार पदबाट राजीनामा दिएपछि सत्ता अघि बढाउने राजनीतिक समीकरण पुनः गठबन्धनतर्फ आएको हो।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ११ : २९ बजे