काठमाडौं, १७ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठक फेसबुकमार्फत लाइभ गर्ने निर्णयबाट पछि हटेको छ । सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा लाइभ गर्ने निर्णय गरेको थियो ।
बैठक लाइभ गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राखेका थिए । सोहीअनुसार पदाधिकारी बैठकमा नेताहरु लाइभ गर्ने प्रस्तावमा सहमत भएका थिए । तर, केन्द्रीय कमिटी बैठक बस्नु केही घण्टाअघि आज बिहान बसेको स्थायी कमिटी बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।“पदाधिकारी बैठकमा लाइभ गर्ने कुरा भएको थियो । स्थायी कमिटी बैठकले लाइभ गर्नुहुँदैन भनेपछि नगर्ने निर्णय गरिएको छ । अब बैठक लाइभ हुँदैन,” बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने ।
किन गरिएन लाइभ ?
कार्यालय सचिव डोरप्रसाद उपाध्यायले यसअघि निर्णय नभएर बैठक लाइभ गर्ने कुराकानी भएको बताए । “पदाधिकारी बैठकमा लाइभ गर्ने कि भन्ने कुरा भएको थियो । त्यो निर्णय थिएन । अब नहुने भयो,” उनले भने ।माओवादीले बैठक लाइभ गर्ने निर्णय गरेपछि केन्द्रीय नेताहरुले प्रेस कन्फ्रे्रन्स गर्दा उपयुक्त हुने भन्दै निर्णयको विरोध गरेका थिए । बाहिरबाट पनि कुरा उठेपछि लाइभ नगर्ने निर्णयमा पुगिएको नेता सुरेन्द्र कार्कीले जानकारी दिए ।
“बैठक टुँडिखेलमा नै गर्दा भयो । प्रेस कन्फ्रेन्स नै गर्दा भयो भन्ने कुरा बाहिर आइरहेको थियो,” उनले भने, “आन्तरिक रुपमा नै छलफल गर्न पाउनुपर्छ भन्ने कुरा उठ्यो । कतिको आन्तरिक कुरा गर्नुहुन्छ, बैठकमा सहभागीमा निर्भर हुने कुरा हो ।”आजको बैठकमा नेताहरुले लाइभ गर्ने परम्परा नरहेको र यसले राम्रो सन्देश नजाने भन्दै उक्त प्रस्तावको विरोध गरेका थिए ।
“बैठक लाइभ गर्ने हाम्रो परम्परा होइन । गर्नुपर्ने विषय भए लाइभ हुने हो । आम विषय कसरी लाइभ हुन्छ ? बैठकमा विभिन्न व्यक्तिकै कुरा उठ्न सक्छन्,” स्थायी कमिटी सदस्य पेशल खतिवडा भन्छन्, “बैठक लाइभ गर्दा बाहिर राम्रो सन्देश जाँदैन भन्ने कुरा भएपछि लाइभ नगर्ने निर्णय भएको हो ।”बैठकमा आन्तरिक मात्रै नभएर गठबन्धनमा रहेको दल कांग्रेसका नेताहरुको पनि विषय उठ्न सक्ने भन्दै त्यसले राम्रो सन्देश नदिने निष्कर्षमा माओवादी पुगेको छ । बैठकमा उठेका कुराले गठबन्धनमा समस्या पैदा हुन सक्ने भएकाले पनि बैठक लाइभ गर्ने प्रस्ताव अघि नबढाइएको एक नेताले भने ।
“बैठकमा पार्टीका मात्रै नभएर कांग्रेसका नेताहरुको कुरा उठ्लान् । यसले गठबन्धनमा राम्रो सन्देश नदिन सक्छ,” एक नेताले भने, “बैठकमा भनिएका कुरा त बाहिर जान्छन् नै । तर, प्रत्यक्ष प्रशारण गर्दा त्यसले फाइदा पुर्याउँदैन भन्ने कुरा भयो ।”सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको थियो । सोही सिको गर्दै बैठक लाइभ गर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव तुहिएको छ ।
दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्र्र्दै छन् । बैठकमा केन्द्रीय सदस्य सबैलाई बोल्न दिने तयारी भएको छ ।














