काठमाडौँ–एकीकृत समाजवादी( नेकपा एस)को सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तोक्ने गरी छलफल गरिरहेको छ।
पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा शुक्रबार सचिवालय बैठकमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयको सचिवालयले जनाएको छ।बैठकमा सबै सचिवालय सदस्य उपस्थित छन्।नेकपा एसले यसअघि स्थगित गरेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्न लागेको हो।
यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।शुक्रबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको मिति तय गर्ने देखी रिक्त रहेका पदहरूमा पदपूर्ति गर्ने एजेन्डा पनि छन्।
सचिवालयले सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्न खोजेको छ।
–––














