सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा हो : नेसपा अध्यक्ष भट्टराई



काठमाडौं , २६ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताएका छन् ।

शुक्रबार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताए । ललिता निवास जग्गा प्रकरणबारे आफू बयान दिन तयार रहेको बताएका छन् ।

आफ्नो नेतृत्वको पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले जस्तोसुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गरे । उनले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताए ।

उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ५ : १० बजे