एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा सदन अवरुद्ध गरेर पोखेको अर्थमन्त्री महतको आरोप



काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।बुधबार जनकपुर पुगेका अर्थमन्त्री महतले, प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको उनको तर्क छ ।


‘सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नु पर्यो । प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी । ’एमालेले विना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुदाँ कयौँ काम रोकिएको बताए । ‘संसद भनेको जनताले निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो । कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नु पर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनु छ । प्रदेश संरचनालाई बलियो बनाउनु छ । संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ ।’ उनले भने ।


आफूहरु प्रतिपक्षमा रहदाँ अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको उनको दाबी छ । ‘हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने । यो भयो भने त यी कुराहरु अगाडि बढ्दैनन् नी । नेपाली कांग्रस जवसम्म प्रतिपक्षमा थ्यो कहिले पनि हामीले संसदलाई अनावश्यक रुपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौं नी ।’

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  १२ : ५८ बजे