कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्छ : सभापति देउवा



काठमाडौं , १ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्ने बताए । उनले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन आवश्यक भएको पनि बताए ।नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारी युनियन, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरुलाई चलायमान बनाउँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।


उनले भने, ‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ ।’सभापति देउवाले राजनीतिक भनेको आउने जाने प्रक्रिया हो तर कर्मचारी भनेको स्थायी सरकार भएको भन्दै स्थायी सरकार सशक्त हुनुपर्ने बताए ।यस्तै उनले बल्ल बल्ल कोभिडबाट मुक्ति भएको देशमा फेरि डेंगुको संक्रमण आएको भन्दै सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  २ : ३१ बजे