नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान



काठमाडौँ, ११ भदौ स् नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दैछ । नाडा अध्यक्ष डा धु्रवबहादुर थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए । उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ ।

नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनकरुपमा अटोमोबाइल कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ । नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन । लामो समयदेखि हुन नसकेकाले नाडा अटोशो २०२३ मा अटोमोबाइल कम्पनीको अत्यधिक सहभागिता रहेको नाडाले जनाएको हो ।

सटल बसको व्यवस्था

नाडाले छ दिनसम्म सञ्चालन हुने शोमा पहिलो पटक सटल बस सञ्चालन गर्ने जनाएको छ । नाडाका सचिव एवं अटोशो संयोजक अनुपकुमार बरालले शोलाई ध्यानमा राख्दै तीन वटा सटल बस सञ्चालनको तयारी भएको जानकारी दिए। काठमाडौँ मल, सैनिक कल्याणकारी भवन, बसपार्क, भ्यू टावरलगायतका सार्वजनिक पार्किङस्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ६ : ५८ बजे