कार्यान्वयनमा आयो एमसीसी परियोजना



काठमाण्डौं , १३ भदौ । अमेरिकी सहायता परियोजना एमसिसी आजदेखि कार्यान्वयनमा आएको छ।बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले एमसिसी परियोजनाको कार्यान्वयन सुरु भएको घोषणा गरेका हुन्।


घोषणा सभामा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले धेरै उतार चढावका बीच परियोजना कार्यान्वयनमा आएको भन्दै खुसि व्यक्त गरेका छन् ।त्यस्तै एमसीसी कम्याक्टका उपाध्यक्ष अल्फोर्डले, पाँच वर्षे काउन डाउन सुरु भएकोमा खुसी व्यक्त गरे । परियोजना कार्यान्वयनको अवस्थासम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका उनले यो परियोजनाले नेपालको विकाशमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


आजबाट कार्यान्वयनमा गएको घोषणा भएसँगै अब एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू भएको छ। अब एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मतलगायतका क्षेत्रमा अमेरिकी सहायता प्रयोग हुनेछ ।प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ।
त्यस्तै रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल—भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।


नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासीको भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाइने छ ।सडक आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।
आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ५ : ३७ बजे