कर्मचारी देशको स्थायी सरकार हो : डा.कोइराला



काठमाडौं , १९ भदौ । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए ।उनले भने, ‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौं । कर्मचारी भन्ने वित्तिकै सरकार हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । उनीहरू यो देशको स्थायी सरकार हुन् भन्ने कुरा बुझ्न जरुरी छ त्यता हाम्रो ध्यान गएको छैन् ।’

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै उनले नेपालजस्ता वहुभाषिक, वहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरे ।उनले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले देश ठीक स्थानमा अगाडि बढ्न सकेको छैन । केही समय अगाडि भएको घटना धार्मिक युद्ध हो कि जस्तो लाग्यो तर त्यो धार्मिक युद्ध होइन, त्यसमा जातीय गन्ध मिसिएको थियो ।’यस्तै, उनले देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर र देशको प्रधानमन्त्रीले अराजक किसीमले बोल्न नमिल्ने भन्दै यसरी देश नचल्ने बताए ।

प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार  २ : ३२ बजे