काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।
राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएकाबेला हस्तान्तरण गर्न पाउँंदा खुशी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए ।
‘‘फरक खालको स्थिती भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन् । त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ’’ बीपीको सो भाषण उदृत गर्दै पोखरेलले भने
प्रजातन्त्र राजनीतिक प्रणालीको रुपमा वा जीवन पद्दति प्रयोगको रुपमा यी देशहरूमा परिक्षणको रुपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गरेका छन् ।














