भारत–क्यानाडा तनाब बढ्यो, क्यानडाद्वारा भारतीय कूटनीतिज्ञ निष्कासन



काठमाडौं । भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् ।

भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ । निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए ।

ट्रुडो स्वदेश फर्केको केही समयपछि क्यानाडाका वाणिज्यमन्त्री मेरी एनजीका प्रवक्ताले शुक्रबार भनेका थिए – क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ ।

भारतको प्रतिक्रिया

भारतको विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोपलाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाका प्रधानमन्त्रीले संसद्मा जे भने पनि हामी अस्वीकार गर्छौं । हामी क्यानाडाली विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं ।

क्यानडामा हुने कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद र राजनीतिक रूपमा प्रेरित हो ।’

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  ११ : ५५ बजे