ढोरपाटन (बागलुङ), १५ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ ।
महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो ।
उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा प्रदेश सरकारको सहभागितामा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मानउने निर्णय पनि गरेको छ ।
पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार आजैदेखि सुरु गर्ने र यससम्बन्धी पत्राचार महासङ्घका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमार्फत गर्ने निर्णय भएको छ । अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।
अध्यक्ष ढकालले महासङ्घ एवं नेपाल सरकारलेसमेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए ।
अध्यक्ष ढकालले भने, “सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको एक प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र सिकार आरक्षमा बैठक बसेर गरिएको छ । कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायक सिद्ध हुने अपेक्षा गरेका छौँ ।”











