काठमाडौँ, १४ पुस । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् ।
योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको थियो ।
कोभिड(१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उनले भने, “यसवर्ष पर्यटक आगमन उत्साहवद्र्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।”
पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अपेक्षा छ । “सरकारको १० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो”, उनले भने, “एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।”
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ ।
भारतीय पर्यटक बढे
पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यसवर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ सय हजार नौ सय ८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार दुई सय ४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार एक सय ९१ पुगेको छ ।
त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ ।
यस अवधिमा म्यानमारबाट १२ हजार छ सय ८८, श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार सात सय ९१ विदेशी पर्यटक भित्रिएका छन् ।
कुन महिनामा कति पर्यटक ?
पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो ।
वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मेमा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार तीन सय नौ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज र भोलि वर्षको अन्तिम दिनसम्म यो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ ।











