यमनका हूथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतले थाले हवाई आक्रमण



काठमाडौं । यूके र अमेरिकी फौजले यमनका हूथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ।

यूकेका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्।उनले यो हवाई आक्रमण “सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम” भएको बताएका छन्।बाइडनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बहराइनले यो मिसनका लागि सहयोग गरेका छन्।

हूथी उपविदेश मन्त्री हुसेन अल(इजीले “खुलमखुला आक्रमणको” अमेरिका र यूकेले “ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी दिएका छन्।एक वरिष्ठ अमेरिकी अधिकारीले हालसम्म हूथीले जबाफी आक्रमण नगरेको बताएका छन्।

आक्रमणको निसाना कहाँ ?

राजधानी सना सहित रेड सी मा हूथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित हूथीको पकड क्षेत्र सद्दामा हमला भएका विवरण आएका छन्।

अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सना सहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हूथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ।सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिएका छन्।

हूथीले सञ्चालन गरेको टेलिभिजन च्यानल अल-मजिराले अमेरिकी अगुवाइमा आक्रमण भएका स्थानहरूको विवरण टेलिग्राममा पोस्ट गरेको छ।उक्त टेलिभिजनका अनुसार सना सहित देशको अन्तर्राष्ट्रिय विमानस्थल रहेको अल-दुलामी हवाई अखडामा पनि हमला भएको छ।

आक्रमणको निसाना बनाइएका अन्य स्थानहरूमा सद्दा सहरको पूर्वमा रहेको एउटा क्याम्प, हुदैदा विमानस्थल, ताइज अन्तर्राष्ट्रिय विमानस्थल सहितका स्थान छन्।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : २७ बजे