पाकिस्तानको पञ्जाब प्रान्तमा पहिलो महिला मुख्यमन्त्री मरियम नवाज निर्वाचित



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् ।मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बन्दै इतिहास पनि रचिन् । मरियम नवाजले २२० मत प्राप्त गर्दै सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार राना अफताब अहमदलाई पराजित गरिन् ।

सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले मतदान बहिष्कार गरेका थिए । त्यसैले राणा अफताब अहमदले कुनै मत प्राप्त गरेनन् ।संख्याका अनुसार मरियम नवाज पञ्जाबको मुख्यमन्त्री बन्ने निश्चित थियो । पञ्जाब विधानसभाका अध्यक्ष मलिक अहमद खानले मुख्यमन्त्री पदका लागि मात्र मतदान हुने र कुनै पनि सभासदलाई बोल्ने मौका नदिने स्पष्ट पारेका थिए ।

त्यसपछि भएको मतदानमा मरियम नवाज सहजै विजयी भएकी हुन् । यसअघि पञ्जाब विधानसभाका सदस्यहरुको सपथ ग्रहण समारोह भएको थियो, जसमा ३७१ मध्ये ३२१ जनाले सपथ लिएका थिए ।

पञ्जाब विधानसभाको सभामुख र उपसभामुखको निर्वाचनमा पनि नवाज सरिफको पार्टी पीएमएल–एन विजयी भएको छ ।पीएमएल–एनका मलिक मोहम्मद अहमद खानले २२४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका छन् । उपसभामुखमा मलिक जहीर चनेरले २२० मत पाएका छन् ।

मरियम नवाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । मरियम नवाजले सन् १९९२ मा सफदर अवानसँग विवाह गरेकी थिइन् । सफदर अवान पाकिस्तानी सेनामा कप्तान भइसकेका छन् ।

सफदर अवान नवाज सरिफका सुरक्षा अधिकारी पनि थिए । मरियम नवाजका तीन सन्तान छन् । मरियम नवाज २०१२ मा राजनीतिमा प्रवेश गरिन् र आफ्नो बुबा सँग काम गरिन् ।
मरियम नवाज सन् २०२४ को आम चुनावमा पहिलो पटक पाकिस्तानको नेशनल एसेम्बली र पञ्जाब एसेम्बलीमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ५० बजे