काठमाडौँ, २७ फागुनः राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन फागुन २९ गतेलाई मिति तोकिएको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ ।
फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी हुन् । उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् ।
यही फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन् । आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेका १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।














