काठमाडौं । युक्रेनमा रूसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बावजुद रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शङ्का छैन ।
चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ ।
पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् । तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् ।
क्रेमलिनका आलोचकहरूले यी तीन उम्मेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् ।
स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौं कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् ।
करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उहाँकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।
गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौं समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।
नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उहाँकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेकि छन्ँ ।














