काठमाडौं, । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो ।
कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी भए ।
कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि साथै पत्रकार एवं बुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो ।
शुभकामना मन्तव्य राखदै प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखे ।
कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताए ।
नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे । आफू मध्यपहाडी भेगको भएपनि मधेसका दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उनको भनाइ छ ।
समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए ।
मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षणलगायतका कार्यहरु पनि एकता समाजको लक्ष्य रहेको डा. यादवको भनाइ छ ।
कार्यक्रममा सहभागी हुन कतारभरिबाट सयौंको संख्यामा मधेशी समुदायका व्यक्तिहरु दोहा पुगेका थिए । सो अवसरमा उनीहरुले एकअर्कालाई शुभकामना आदानप्रदान गरेका थिए ।
सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरि अतिथिदेखि सहभागीहरुलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकार पस्किएका थिए ।
नेपालको राष्ट्र गानबाट सुरु भएको कार्यक्रममा समाजको कतार शाखाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कतार शाखाका महासचिव चन्द्रवीर यादवले सञ्चालन गरेको कार्यक्रममा समापन मन्तव्य राख्दै कतार शाखाका अध्यक्ष महतोले निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई नयाँ वर्ष, जुडशीतल र ईद उल फित्र पर्वको शुभकामना दिए ।
कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई महतोले धन्यवाद दिए ।