मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पाइने



काठमाडौं, । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको छ ।

यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए ।

तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उनले बताए । ‘सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं,’ कार्यक्रममा अध्यक्ष बगरियाले भने, ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५÷१५ हजार मेट्रिक टन क्षमताका छन् ।’

वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ ।

भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेको सन्दर्भमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको महाप्रबन्धक सत्यालल बाताए ।

उनले भने, ‘वेयरहाउसमा सुरक्षित भण्डारण गरेको अनाज पछि राम्रो मूल्य पाएको बेला जहिलेसुकै बिक्री गर्न सकिन्छ । यसबाट आफ्नै भण्डारण पूर्वाधार नभएका किसान धेरै लाभान्वित हुनेछन् ।’

कार्यक्रममा बोल्दै कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताए ।

सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजीक्षेत्रले तयार पारेका भण्डारणगृहको उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने पनि प्रस्ट पारे । पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म अन्न खेर जाने भन्दै उनले त्यसरी खेर जाने अनाज जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने अग्रवालको भनाइ छ ।

कम्पनीको संक्षिप्त परिचय

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड किसानका अन्न भण्डारण, कृषि बजारीकरण र व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकता परिपूर्ति गर्न कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ सालमा स्थापना भएको हो ।

कम्पनीले कृषिजन्य उत्पादनको सुरक्षित भण्डारण, प्रशोधन, लिलाम बढाबढ सेवा, कृषिजन्य उत्पादन धितो राखी ऋणको प्रबन्ध गर्नुका साथै किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।

। हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित नेपालकै पहिलो तथा ठूला यी भण्डारणगृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिन्छ ।

वेयरहाउजिङका अन्न भण्डारण केन्द्रले भण्डारणस्थलको अभावमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ । भने मुसा, कीरा, ढुसी, चोरी, हावापानी आदिले गर्ने अन्नको नोक्सानीबाट बच्न सकिन्छ । किसानले भण्डारण गरेको अनाज धितो राखेर बैंक, वित्तीय संस्थाबाट ऋण पाउने अवस्था बनेको छ ।

कम्पनीका अत्याधुनिक भण्डारण सुरक्षित, प्रविधियुक्त, सहज र सर्वसुलभ छन् । साथै किसानहरूले एउटै छानामुनि अन्नको लिलाम बढाबढ सेवा र धितोमा ऋणसमेत पाउन थालेका छन् ।

कम्पनीले उपलब्ध गराउँदै अएको एकीकृत कृषि सेवा र मन्डी बजार व्यवस्थापन सुविधाले कृषि उपजको बजारीकरणमा पनि योगदान पूगेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ३१ बजे