काठमाडौँ । ‘जादुयी नम्बर’ देखाएर सत्तामा टिकिरहने रणनीति अख्तियार गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अकस्मात् सत्ताच्यूत भएको करिब महिनादिन भयो।
संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्तासाझेदारीको सहमति भएको समाचार सञ्चारमाध्यममा छरपस्ट भइसक्दा पनि प्रचण्डले भने आफू सत्ताच्यूत हुने कुरा यकिन गर्न सकिरहेका थिएनन्। यही बेला आफू नेतृत्वको सत्ता गठबन्धन लामो समय चल्ने कुरा मन्त्रीहरूलाई ब्रिफिङ गरेका दाहालका लागि सत्ताच्यूत हुनुपर्ने स्थिति अप्रत्याशित र अनपेक्षित थियो।
सत्ताच्यूत हुनुभन्दा २० दिनअघि मात्रै उनी भन्दै थिए( थोरै (सांसद संख्या)छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुयी नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ। २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयताका हरेक निर्वाचनमा निरन्तर खुम्चिँदो छ। पार्टीको गिर्दो शाख जोगाउने वा फिर्ता ल्याउने कुरामा दाहालको प्रचण्ड चिन्ता सायदै देखियो। सार्वजनिक रूपमा उनले यसबारे कहिल्यैरकतै अभिव्यक्ति दिएको सुनिएन। २०६४ र २०७० पछिका दुई वटा निर्वाचनमा माओवादीले कहिले कांग्रेस त कहिले एमालेको वैशाखी टेक्यो। फलस्वरुप खुम्चिँदो निर्वाचन परिणामको ग्राफका बीचमा पनि माओवादी सत्तामा भने सर्भाइभ भइरहेको थियो।
राजनीतिको केन्द्रीय विषयवस्तु सत्य सत्ता हो। संसदीय व्यवस्थामा सत्ताप्राप्तिका लागि दलको नेतृत्वले संसदमा बहुमत प्राप्त गर्न प्रयत्न गर्ने हो। अधिकांश दल र नेताले मजबुद संसदीय गणितका आधारमा सत्तामा पुग्ने र शासन व्यवस्था सञ्चालन गर्ने प्रयास गर्छन्। तर दाहाल भने अपवाद हुन्। किनभने उनी प्रतिनिधि सभाको तेस्रो दलका अध्यक्ष हुन्।
र उनले आफू नेतृत्व गरेको खुम्चँदो संसदीय गणित (३२) सिटलाई ‘म्याजिक’ भनिदिन्छन्। अझ त्यही ३२ सिटको म्याजिकको भरमा प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री बनिरहने वा पार्टीलाई सरकारमा टिकाइरहने सपना पनि उनै दाहालले मात्र देख्न सक्छन्। त्यसैले त उनी गत असार ८ गते सार्वजनिक कार्यक्रममा भनिरहेका थिए, ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो। तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन।’
जब दाहाल सत्ताबाट हटे, तब उनलाई जनताको याद आइरहेको छ। पार्टीको चिन्ता लागेको छ। ०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने इच्छा अंकुराएको छ। अनि पार्टीलाई पहिलो शक्ति बनाउने मरिसकेको भावना पुनर्जीवित भएको छ।
पछिल्लो पटक १८ महिना सरकारमा बस्दा एमालेको काँधबाट फड्को हानेर कांग्रेस र कांग्रेसको काँधबाट फड्को हानेर एमालेकै काँधमा आइपुगेका थिए। उनलाई लागिरहेको थियो( कहिले कांग्रेस र कहिले एमालेलाई खेलाएर म ‘म्याजिक’ देखाइरहनेछु, उथलपुथल गरिरहनेछु। तर, असारको अन्तिम साता कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यको सहमतिले दाहालको सत्ता सपना, म्याजिक र उथलपुथलमा एकैपटक पानी फेरिदियो।
जब दाहाल सत्ताबाट हटे, तब उनलाई जनताको याद आइरहेको छ। पार्टीको चिन्ता लागेको छ। ०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने इच्छा अंकुराएको छ। अनि पार्टीलाई पहिलो शक्ति बनाउने मरिसकेको भावना पुनर्जीवित भएको छ।














