चुनावअघि गठबन्धन नगर्ने गगनको प्रस्ताव पारित भएपछि कांग्रेसमा उत्साह



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएसगै कांग्रेसबृत्तमा उत्साह देखिएको छ। देशैभरिका कांग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत उक्त निर्णयप्रती खुसी ब्यक्त गरेका छन् ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री गगन थापाले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो।

नेपाली कांग्रेसको साउन २३ गतेदेखि बसेको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा प्रि(इलेक्सन अलाइन्स (निर्वाचनअघिको गठबन्धन) नगर्ने निर्णय गरेको हो।

बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। थापाको प्रस्तावमा कांग्रेसले आफ्नै ताकतमा निर्वाचन लड्ने कुरा उल्लेख छ।

‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ‚’ पारित प्रस्तावमा लेखिएको छ।

सभापति शेरबहादुर देउवा भने गठबन्धनको गर्नेरनगर्ने सम्बन्धमा कुनै पनि विषय उल्लेख नगर्ने पक्षमा थिए। तर गठबन्धन गर्दा उल्टै कांग्रेसलाई घाटा भएको भन्दै अबका चुनावमा एक्लै लड्ने निर्णय भएको हो।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक्जिट पोलिसीसम्बन्धी प्रस्तावका विषयमा संविधान संशोधनका बेला बहसमा ल्याउने विषय उल्लेख छ।

बैठकले २०८१ असार १७ गते समानताको हैसियतमा सरकार चलाउने सहमतिलाई कार्यान्वयन गर्दै जाने पनि निर्णय पनि गरेको छ।

प्रकाशित मिति : भदौ १७, २०८१ सोमबार  ८ : ३१ बजे