किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् ।मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी रहेको बताए ।

उनले भने,‘किसान सूचिकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौं । त्यति मात्र होईन यसै वर्ष हामीले सूचिकरण वर्गिकरण गर्दै हामीले कम्तिमा वितरणको प्रकृया पनि सुरु गरौं भन्ने उद्देश्य राखेका छौं । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी मैले महशुस गरेको छु ।’

उनले बाली बीमाका सन्दर्भमा प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराए । अनुदानको विषयमा कृषि मन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिका र प्रदेश तहसँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्था गर्ने सोच अगाडि सारेको पनि उनले बताए ।

उनले भने,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएका आरोपहरु छन् । यसमा पालिका तह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिक होला कि भन्ने सोच पनि हामीले अगाडि बढाएका छौं ।’

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ०९ बजे