अमेरिकी राष्ट्रपतीय चुनावअघि आरोप प्रत्यारोपले भरिएको ह्यारिस-ट्रम्पको पहिलो प्रत्यक्ष बहस



काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक आमनेसामने बहस गर्दै मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्।

संयमितरूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए।

प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए।ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए।

ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए। बीबीसि बाट

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  ११ : ३१ बजे