प्रधानमन्त्री ओलीले आज सरकारको १०० दिनको प्रगति सार्वजनिक गर्ने



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो।

बैठकमा सरकारको एक सय दिनको समीक्षा गर्ने एजेन्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सरकारले आजै आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन्।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। यसका साथै आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे पनि सत्ताधारीहरूबीच छलफल गर्ने तयारी छ।

पछिल्लो समय प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको विरोधलाई चर्काउँदै लगेका छन्। मंगलबार मात्रै माओवादीले काठमाडौँमा ओलीको पुत्ला दहन गरेको थियो भने रास्वपाले चितवनमा ओलीको मृत्यु भएको भन्दै शवयात्रा गरेको छ।

प्रतिपक्षीका यस्ता गतिविधिले वातावरण धमिल्याउने प्रधानमन्त्री ‌ओलीले सोमबारै बताएका थिए। १३ बुँदे माग लिएर बालुवाटार गएका माओवादी(रास्वपासहितका विपक्षीहरूलाई संयमित भएर विरोध गर्न ओलीले संकेत गरेका थिए। तर दुवै दलले ओलीको आग्रहलाई ध्यानाकर्षण नगरेको भन्दै प्रधानमन्त्री आक्रोशित छन्।

प्रधानमन्त्रीविरुद्ध हुने विरोधका गतिविधिलाई संयमित बनाउनका लागि आवश्यक परे बल प्रयोग गर्नुपर्ने ओलीको मत छ। सरकारविरोधी आन्दोलन मत्थर गराउन सरकारले रणनीति का विषयमा बैठकमा छलफल हुन सक्ने एमाले नेताहरूको आकलन छ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  ११ : ०२ बजे