रवि रिहाइका लागि माइतीघरमा रास्वपाको विरोध प्रदर्शन (तस्बिरहरू)



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको अभियोग छ।

कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

रास्वपाले भने सरकारले बयान लम्ब्याएर रवि लामिछानेमाथि दुःख दिने नियत राखेको आरोप लगाएको छ।

उनको रिहाइको माग गर्दै उसले काठमाडौंकेन्द्रित गर्ने आन्दोलन रणनीति अघि सारेको छ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका थिए।

शुक्रबार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको थियो।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  २ : ५५ बजे