एजेन्सी – जर्मनीका चान्सलर ओलाफ स्कोल्जले संसदमा विश्वासको मत गुमाएका छन्। जसका कारण अब जर्मनीमा फेब्रुअरीमा चुनाव हुने भएको छ।
विश्वासको मतका लागि भएको मतदानमा स्कोल्जले ७३३ सिटको तल्लो सदन वा बुन्डेस्टागमा २०७ सांसदको समर्थन प्राप्त गरेका थिए। उनको विपक्षमा ३९४ सांसदले मतदान गरेका थिए। १ सय १६ सांसदले मतदानमा भाग लिएनन्।
स्कोल्जले बहुमतका लागि आवश्यक ३६७ को मत प्राप्त गर्न सकेनन्। जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादमा स्कोल्जले आफ्ना अर्थमन्त्रीलाई निष्कासन गरेका थिए। जसका कारण तीन दलको गठबन्धन टुटेको बताइन्छ। जर्मनीले अहिले गहिरो आर्थिक संकटको सामना गरिरहेको छ।
स्कोल्जको सरकार अल्पमतमा परेपछि उनले भने, ‘आकस्मिक चुनावले देशको राजनीतिलाई बलियो दिशा दिन सक्छ।’ उनले आगामी निर्वाचनलाई जर्मनीको भविष्यका लागि महत्वपूर्ण क्षण भएको पनि बताए।
जर्मन चान्सलरले जानाजानी संसदको तल्लो सदनलाई अविश्वासको घोषणा गर्न आग्रह गरेका थिए, ताकि नयाँ चुनाव गराउने दिशामा पहिलो औपचारिक कदम चाल्न सकियोस्।
सरकारको पतनपछि, स्कोल्जले अब राष्ट्रपति फ्रान्कवाल्टर स्टाइनमेयरलाई संसद भंग गर्न र औपचारिक रूपमा नयाँ चुनाव गर्न भन्नेछन्।














